
असार, २३ । सामान्यतया उद्योगी, व्यवसायीहरुको काम के–के हुन सक्छन् ? जवाफ सहजै आउन सक्छ, व्यापार व्यवसाय प्रर्वद्धन गर्ने र त्यसबाट राम्रै मुनाफा कमाउने । त्यसमा पनि नाम चलेका व्यवसायी र व्यवसायमा ख्याति कमाई सकेका (ब्राण्ड) स्थापित गराई सकेका उद्योगीहरुलाई त आफ्नो ब्राण्डलाई स्थायित्व र दीर्घकालीन बनाउने मै ध्यान केन्द्रित हुन्छ ।
मुख्य त, यी र यस्तै गतिविधिमा केन्द्रित हुन्छ , व्यवसायीहरुको ध्यान र दिनचर्या । तर, नेपालका चर्चित उद्योगपति निर्वाण चौधरीको दिनचर्या र ध्यान यतिमा मात्रै सिमित देखिदैन । उद्योगपति चौधरी, व्यावसायिक क्षेत्रमा हेर्नु पर्दा नेपालमा मात्रै नभई विश्वमै चर्चा कमाएको चौधरी ग्रुपका एक सदस्य हुन् । अर्थात, एक सफल व्यवसायी । उनको दैनिकी व्यवसाय प्रर्वद्धनमा त छँदैछ, अचेल उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएर लागेका छन् । व्यवसायबाट बचेको समयलाई उनी सामाजिक कार्यमा लगाई हाल्छन् । त्यसैले त उनी भेटिन्छन् , विभिन्न सामाजिक संघसंस्थाहरुमा ।
केहिदिन अघि हामीले उनलाई यस्तै एक कार्यक्रममा सरिक भएको भेट्यौँ । उनी सहभागि भएको कार्यक्रम थियो, कुलतमा फसेका युवाहरुमा सकारात्मक सोँच भर्ने र नयाँ जीवन दिने ।
साथी भाइको लहडमा लागेर वा परिवारबाट माया नपाएर कुलतमा फसेका युवाहरु , जसको जीवन अन्धकारमा जाँदै छ । तिनीहरुमा सकारात्मक सोँच भरेर जीवन परिवर्तन र कुबाटोमा लागेका युवाहरुमा नयाँ विचार दिएर कुलतको दलदलबाट माथि उठाउन उनी लागि परेका छन् । अझ भनौँ, त्यस्ता युवाहरुको प्रेरक व्यक्ति बनी मार्ग दर्शन गरिरहेका छन ।
जीवनमा आफूलाई असफल भएँ भनी गलत बाटो समातेकालाई सफलताको सुत्र, जीवन संर्घष के हो त्यसको अर्थ दिन, सुखी र खुशी जीवन कसरी जीउने उनीहरुलाई त्यसको कला सिकाउन सक्रिय भई लागेका छन् । उनी आफ्ना जीवनका भोगाईहरुबाट पाएका हौसला अभिव्यक्त गर्दै युवाहरुलाई नयाँ जीवनको संचार गराउन उत्प्रेरक बनेर लागेका छन् ।
केहि दिन अघि हामीले उनलाई काठमाडौ बुढानीलकण्ठ, पासीकोटमा रहेको वे अफ लिभिङ ( way of Living) नामक सामाजिक संस्थामा भेट्ने मौका पायौँ । कुलतमा फसेर जीवन बर्बाद हुने स्थितिमा पुगेका त्यस्ता युवाहरुमा नयाँ जीवनको संचार गराउन आफ्ना सकारात्मक विचार दिँदै गरेको अवस्थामा उद्योगपति चौधरीलाई देख्दा लाग्यो उनी देश र समाजका लागि आफ्नो मन साट्न चाहन्छन् । आफ्ना भावना बिसाउन चाहन्छन् । उनले व्यसाय क्षेत्रमा भोगेका सकारात्मक भोगाई र जीवन जीउने कला साट्दै गर्दा त्यस संस्थामा रहेका युवाहरुको मुहारमा एक प्रकारको नयाँ बिहान देखिन्थ्यो ।
उनले आफू र आफ्नो भोगाई मात्रै नभई जीवन परिर्वतन र सुधारका लागि आवश्यक सर्तहरुका सन्दर्भमा विश्वका केहि व्यक्तिहरुको सफलताको कथा सुनाउँदै थिए ।
कुलतमा लागेका मानिसहरुका लागि समाजका हरेक क्षेत्रका यस्ता सफल व्यक्तिहरु मार्ग दर्शक बन्न सक्छन । लागुऔषध, कुलत या दुव्यर्सनी कुनै एउटा व्यक्ति वा घरको मात्र समस्या नभई सिंगो मानव सभ्यताको लागि नै चुनौतीको विषय भएकाले सवैले आ–आफ्नो ठाउँबाट समाजमा सकारात्मक योगदान दिनु पर्ने उनको भनाई थियो ।
सभ्य र अनुशासित समाज निर्माणको पहिलो सर्त कुलत मुक्त समाज हो’, उनले भने, समाजप्रति उत्तरदायी बन्नु हरेक व्यक्तिको उत्तरदायित्व हो। उनले व्यावसायिक भाषामा सम्झाउँदै यसरी भन्दै थिए , लिँदा जति आनन्द हुन्छ, दिँदा त्यो भन्दा कैयौँ बढि आनन्द प्राप्त हुन्छ ।’ अर्थात, हरेक मानिसले यो देश, समाजबाट जे जति सिकेको वा लिएको हुन्छ, त्यसको केहि हिस्सा यो समाजलाई पनि दिनु पर्छ, जसले गर्दा समृद्ध समाज निर्माणमा मद्दत पुगोस् । जुन प्रत्येक नागरिकको समाज प्रति गर्नु पर्ने दायित्व पनि हो । यस अभियानमा आफु मात्र नभई सिंगो चौधरी ग्रुप साथमा रहेको स्पष्ट पारे ।
कुलतबाट निस्किएका अर्थात नयाँ जीवन पाएका त्यस्ता व्यक्तिहरुलाई समाजमा पुनस्थापित गराउन उनीहरुलाई जुन सुकै अवसर वा शिक्षा प्रदान गर्न आफू र आफ्नो संस्था सदैव तयार रहेका बताए । तपाईहरु फेरी पढ्न चाहानु हुन्छ ? के विषय पढ्ने ? डाक्टर, ईन्जिनियर वा अरु कुनै , भन्नुस्, चौधरी ग्रुप तपाइँहरुलाई पढाउन तयार छ । वा रोजगार चाहियो भने पनि तपार्इँहरुलाई चारै ढोका २४ घण्टा खुल्ला छ । आउनुस, तपार्इँको क्षमताले के भ्याउछ, म रोजगार दिन तयार छु । उनले भनेका यी र यस्तै उत्प्रेरणा जगाउने भनाईहरु अहिले सामाजिक संजालहरुमा चर्चा कमाई रहेको छ ।
उद्योगपति चौधरीको यस्तै सकारात्मक विचार युवाहरुमा जाँदै गर्दा उक्त संस्थाका निर्देशक प्रशान्त शर्माले भन्दै थिए , हामी यस्तै सकारात्मक सोँच र विचार राख्ने युवा चाहन्छौँ । निर्देशक शर्माले भने, हाम्रो मूल उद्देश्य पनि यही हो कि, युवालाई कसरी कुलतबाट छुटकारा दिलाउने र असल युवा यो देशलाई दिने ।’ शर्मा, झण्डै एक दशक अघिदेखि लागुऔषध तथा कुलतमा लागेका युवाहरुलाई गलत बाटोबाट सहि बाटोमा ल्याउन र नयाँ जीवन दिन लागि परेको सामाजिक अभियन्ता हुन् ।
उनको यो प्रयासमा अहिले वे अफ लिभिङ मार्फत देशभर कुलतमा फसेका युवाहरुलाई कुलतबाट छुटकारा दिलाउन र नयाँ जीवन दिने काम गरि रहेको छ । कुलतमा फसेका युवाहरुलाई कुलतबाट मुक्त गरि नयाँ जीवन दिन पाउँदाको खुशी र सन्तुष्टि आफ्ना लागि अमूल्य सम्पत्ति भएको ठान्छन् , अभियन्ता शर्मा । सामाजिक अभियन्ता शर्माको यो अभियानले हामी आशा गरौँ, एकदिन नेपालमा कुलतमा फसेका वा लागू पदार्थको
दुव्यर्सनमा लागेका युवाहरु भेटिने छैनन् । उनी बडो आत्मविश्वासका भन्ने गर्छन् , एकदिन यो अभियानले सार्थकता पाउनेछ अनि मेरो देश लागू औषध र दुव्यर्सनमुक्त बन्नेछ ।
Story Link: http://nayapaila.com/news/details/MzMx