नयाँ पत्रिका काठमाडौं, २१ वैशाख
चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्व व्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन् । अमेरिकाको लस एन्जल्समा मिल्केन इन्स्टिच्युटद्वारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘विश्व व्यापीकरणलाई प्रवद्र्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निष्कर्षमा पुग्ने समय आएको हो ?’
विश्वव्यापी रूपमा गम्भीर समीक्षाविना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू सम्भवतः राजनीतिक लोकप्रियताका लागि हुन सक्ने उनको भनाइ छ । अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशील राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढी जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरे ।